काठमाडौं । गृहमन्त्रालयले इजाजत दिइएका हतियारको विवरण तत्काल पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मंगलबार एक परिपत्र जारी गर्दै मन्त्रालयले सबै जिल्ला प्रशासनलाई २४ घण्टाभित्र विवरण उपलब्ध गराउन निर्देशन गरेको हो ।
हतियार तथा खरखजना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले स्थानीय प्रशासनसँग विवरण माग गरेको हो ।
“हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए र नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ”, पत्रमा भनिएको छ ।
सोमबार सर्वोच्च अदालतबाट अत्याधुनिक हतियारसहित दुई व्यक्ति पक्राउ परेका थिए । पक्राउ परेका दुवै जना विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँका निजी सुरक्षा गार्ड हुन् । उनीहरुले उक्त हतियार स्थानीय प्रशासनबाट स्वीकृति लिइ प्रयोगमा ल्याएका थिए ।
आफूसँग सम्बन्धित एक मुद्दाको सुनुवाइका लागि अदालत पुगेका प्रसाईंले दुई सुरक्षागार्ड लिएर अदालत पुगेका थिए । हतियारसहित अदालत पुगेपछि प्रहरीलाई उनीहरुलाई पक्राउ गरेको थियो ।