काठमाडौं । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।
जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको संकल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ ।
सत्तारूढ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी समावेश छन् ।
शेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५ औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्यांकन गरी १६ औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य संकल्पमा राखिएको छ ।
संकल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरेका थिए ।