काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस ३ हाल गंगा जमुना नगरपालिका ७ घर भई हाल ललितपुर महानगर २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार विं.सं. २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगर २२ शंखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
मीन भवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।
थापालाई सोमबार ललितपुर महानगर २६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताए ।