काठमाडौं । जिल्लाको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको मृत्युपछि हिरासतमा रहेका तीन जना शिक्षक रिहा भएका छन् । उनीहरूलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले शालीन मृत्यु प्रकरणमा पक्राउ विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच-पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।
सोमबारदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले उनीहरूलाई धरौटी जमानीमा छाडेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध शालीनको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।
गत फागुन १२ गते विद्यालयको होस्टलमा मृत भेटिएकी शालीनका बाबु दीपेन्द्र पोखरेलले भने हत्या अभियोगमा जाहेरी दिएका थिए । रिहा भएका शिक्षक किटानी जाहेरी परेकै दिन फागुन १५ गतेदेखि प्रहरी हिरासतमा थिए ।