गृहमन्त्री लामिछानेमाथि छानबिन गर्ने समिति गठन गर्न कांग्रेसको अल्टिमेटम-Sutra News

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्ने समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने छानबिन समिति बनाउन सरकारलाई अल्टिमेटम दिएको छ । बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले यस्तो अल्टिमेटम दिएकी हुन् ।



अर्को बैठकसम्म समिति गठन गर्न सत्ता पक्ष तयार नभए सदन चल्न नसक्ने उनको भनाई छ । “प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष, यसका लागि कसले छिनोफानो गर्ने ? सभामुख महोदय तपाईं सदनको नेता हो, आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं”, न्यौपानेले भनेकी छिन् ।

लामिछानेले स्वार्थ बाझिने गरी गृहमन्त्रालय नै लिन खोज्नुको कारण पनि अहिले देखिएको उनले बताएकी छिन् । विगतमा नागरिकता मिलाउन र अहिले सहकारी ठगीलाई थामथुम पार्न लामिछानेले गृहमा नै मरिहत्तै गरेको उनको भनाई छ ।

“किन गृहमन्त्रालयमै मरिहत्ते ? आज बुझ्दैछौं स्वार्थ बाझिने मन्त्रालय किन चाहिएको छ”, उनले भनेकी छिन्, “हिजो नागरिकतामा मिलाउनु थियो, आज सहकारीको ठगी मिलाउनु छ ।”

गृहमन्त्रीको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिएको जवाफ पनि अर्थहिन रहेको पनि कांग्रेसको भनाई छ । “हामीले प्रधानमन्त्रीले जवाफ चाहेका थियौं । तर, पाएनौं, प्रधानमन्त्री गैरजिम्मेवार बन्नुभयो”, उनले भनेकी छिन् ।

कांग्रेसले गृहमन्त्री बनेदेखि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइरहेको छ । लामिछानेले आफूमाथि छानबिन गर्नका निम्ति पनि पदबाट राजीनामा दिनुपर्ने कांग्रेसको जिकिर छ । मंगलबारको बैठकमा प्रधानमन्त्रीले कांग्रेसले उठाएको प्रश्नमाथि जवाफ दिएको भएपनि कांग्रेसले उक्त जवाफलाई स्वीकार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट