चट्याङ लागेर प्रहरी हवल्दारको मृत्यु-Sutra News

चट्याङ लागेर प्रहरी हवल्दारको मृत्यु

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको हो ।



गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए ।

“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए,” प्रनि कुशवाहाले भने ।

उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।

मोरङको ग्रामथान गाउँपालिका ४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट