रविलाई गलाएर गठबन्धन भत्काउने कांग्रेस योजना सफल होला ?-Sutra News

रविलाई गलाएर गठबन्धन भत्काउने कांग्रेस योजना सफल होला ?

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेस जसरी पनि सत्ता गठबन्धनलाई असहज पार्ने योजनामा देखिएको छ । जसको लागि कांग्रेसले पहिलो अस्त्रको रुपमा गृहमन्त्री रवि लामिछानेको राजीनामालाई अघि सारेको छ ।



सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्रालयको जिम्मेवारीमा राख्न नमिल्ने कांग्रेसको तर्क छ । लामिछानेले पदबाट राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको अडान छ ।

कांग्रेसको निरन्तर दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद बैठकमा लामिछानेबारे उठेका प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीले लामिछानेको सन्दर्भमा उठेको प्रश्न राजनीतिक कोणबाट अभिप्रेरित भएको तर्क गरेका छन् । साथै, प्रश्न उठ्ने वित्तिकै पदबाट राजीनामा दिने अवस्था नहुने कुरालाई स्पष्ट पारेका थिए ।

“उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ ? हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौँ ?”, संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रश्न गरेका थिए, “गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोजेको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला, सरकारमा बसे मात्रै पनि पार्ला, त्यसैले यो विषयलाई राजनीतिकरण नगरौँ ।”

गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई कांग्रेसले भने ठाडै अस्वीकार गरेको छ । कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागलाई अघि सारेको छ ।

बुधबार बसेको संसद बैठकमा कांग्रेसले समिति गठन गर्न अल्टिमेटम नै दिएको छ । यदि समिति गठन नगरिए संसद चल्न नदिने कांग्रेसको स्पष्ट अडान छ ।

“प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष, यसका लागि कसले छिनोफानो गर्ने ?”, बुधबारको संसद बैठकमा विशेष समय लिएर बोलेकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले भनेकी छिन्, “सभामुख महोदय तपाईं सदनको नेता हो, आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं ।”

राजनीतिक विश्लेषकका अनुसार गृहमन्त्री लामिछानेलाई राजीनामा दिन बाध्य बनाएर गठबन्धनलाई अप्ठ्यारो पार्ने रणनीतिमा कांग्रेस छ । गठबन्धन परिवर्तन गरेको बदला लिने योजनाअनुरुप गृहमन्त्रीको विषयलाई उठान गरेको विश्लेषकहरुको ठम्माई छ ।

“हिजो रविलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेसबाट गएकै हो, प्रधानमन्त्रीको लागि प्रस्ताव लगिएको पात्रले आफ्नो प्रस्ताव अस्वीकार गर्दा कसरी ठगमा परिणत हुन्छ ? गृहमन्त्री बन्न कसरी अयोग्य बन्छ ?”, राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई भन्छन्, “रविलाई राजीनामा गराएर, गठबन्धनलाई अप्ठ्यारो पार्न सकिन्छ कि भन्ने ध्याउन्न कांग्रेसको हो, यो गठबन्धन भत्काउने योजनामा आएको हो ।”

उसो त कांग्रेसले खुलारुपमै गठबन्धन परिवर्ततन गराउने प्रधानमन्त्री प्रचण्डलाई देखाइदिने बताइरहेको छ । अहिले कांग्रेसका कतिपय नेताहरु मुख्य दल मिल्नुपर्ने भन्दै कांग्रेस–एमाले सहकार्यको भाषा पनि बोलिरहेका छन् । सोमबार बसेको संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले स्वयम्ले एमालेको तारिफमा लामो भाषण गरेका थिए । एमालेको अडानका कारण सुन तस्करहरु समातिने अवस्था बनेको तर्क महामन्त्री थापाको छ ।

“केही समयअगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो, प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर, शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो”, थापाले भनेका थिए, “आयोगले प्रतिवेदन बुझाएको छ, हामीले भर्खरै समाचार सुन्यौँ– कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ, सरकारलाई धन्यवाद छ, आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ, तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ, आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ ।”

अहिले लामिछानेलाई राजीनामा गराएर रास्वपालाई अप्ठ्यारो पार्ने र एमालेलाई फकाएर अर्को गठबन्धन बनाउने रणनीतिमा कांग्रेस उद्धत भएको विश्लेषक भट्टराईको भनाई छ । जसमा सफल हुन् पहिलो चरणमा लामिछानेको राजीनामा सफल हुनुपर्ने उनी बताउँछन् । यद्यपि, गठबन्धनभित्र तत्कालै लत्रिने अवस्था नबनेको उनको भनाई छ ।

“ठूलो दलको हिसाबले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रष्टरुपमा कांग्रेसको रणनीतिलाई असफल पार्ने भाषा बोलिसकेका छन्, उनले कांग्रेसको अडान अर्थहिन हुने टिप्पणी गरिसकेका छन्, स्वयम् प्रधानमन्त्री प्रचण्ड पनि लचक हुने अवस्थामा देखिन्नन्”, भट्टराईले भनेका छन्, “लामिछानेलाई राजीनामा गराएर, गठबन्धन कमजोर बनाउँदै भत्काउने योजना सफल बनाउ सहज छैन, कांग्रेसकै निम्ति यो अडान अप्ठ्यारो पर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट