काठमाडौं । नेकपा एमाले नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् ।
बुधबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै नेता पन्तले संसदमा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनु पर्ने भए पनि विना प्रमाण पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् ।
राजीनामा मागेर काम गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ थियो । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने भन्दै प्रतिपक्षीले राजनीतिक आधारहरूलाई हेर्नु पर्ने उनले बताए ।
उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे ।