काठमाडौंको तापक्रम १२ सेण्टिग्रेड, यी स्थानमा हुँदैछ वर्षा-Sutra News

काठमाडौंको तापक्रम १२ सेण्टिग्रेड, यी स्थानमा हुँदैछ वर्षा

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । देशका धेरै भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिए ।



उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

ललितपुरको लेलेमा १३ दशमलव छ, काठमाडौंको ढापड्याममा १० दशमलव चार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात दशमलव चार मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए । उनले भने, “काठमाडौंमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।”

काठमाडौंमा आज दिनभरि जसो मौसम बदली रहने र पानी केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहने छ । अहिले काठमाडौंको वायुको तापक्रम १२ सेन्डिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ । अधिकतम तापक्रम २१ देखि २३ सेन्डिग्रेडबीच रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट