काठमाडौं । फिल्म ‘मोदीबेनी’को छायाकंन समाप्त भएको छ ।
छायांकनको ३१औं दिनमा बुधबार पर्वतको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाकंन सकाएका हुन् ।
दुई चरणमा भएको यो फिल्मको छायाकंन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो ।
अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस फिल्मबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । निर्देशक शङ्कर कोइरालाले पनि फिल्ममा निर्देशनमा डेब्यु गरेका छन् ।
करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नछ । यस फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । अभिनेत्री उप्रेतीले यस फिल्मबाट झण्डै ९ वर्षपछि कमब्याक गर्दैछिन् ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।
यो फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।