काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई बयान दिएर अस्पताल फर्किएका छन् । बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट महरा लैनचौरस्थित सीआईबी कार्यालय गएका थिए ।
सीआईबीका अनुसार महरालाई बिहीबार दिउँसो १ बजे बयान सकेर अस्पताल फिर्ता गरेको हो । आज पनि बयान लिएसँगै उनको बयान सकिएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनु पर्ने सिफारिसमा महराको नाम समावेश गरेपछि सीआईबीले कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो ।
पक्राउ परेकै दिन जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । तर, अदालतले महरा बिरामी भएकाले अस्पताल लैजान निर्देशन दिएको थियो ।
गत चैत्र १ मा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ । महरामाथि विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकारेका थिए ।
भेपमार्फत आएको सुन प्रकरणमा महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । भेपमार्फत आएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पुर्पक्षका लागि थुनामा राखेको छ ।