काठमाडौं । भारती क्रिकेट लिग (आईपीएल) २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले चकित पार्ने निर्णय गरेको छ । आईपीएलको १७ औँ सिजनका लागि चेन्नईले टिमको कमाण्ड रुतुराज गायकवाडलाई सुम्पेको छ ।
अर्थात् एमएस धोनी यस सिजन चेन्नईको कप्तानीमा देखिने छैनन् । चेन्नईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैड्ग्लोरसँग खेल्दै छ ।
धोनीको कप्तानीमा चेन्नईले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै पाँचौँ पटक आईपीएलको उपाधि जितेको थियो ।
धोनीको कप्तानीमा चेन्नईको प्रदर्शन उत्कृष्ट रह्यो । धोनीको नेतृत्वमा यो टिमले पाँच पटक आईपीएल ट्रफी जितेको थियो । धोनी सन् २००८ देखि टोलीको कप्तानी गर्दै आएका छन् ।
सन् २०२२ मा सीएसकेले सिजन सुरु हुनुअघि रविन्द्र जडेजालाई टोलीको कमाण्ड सुम्पेको थियो । यद्यपि, जडेजाको कप्तानीमा रहेको टोलीको प्रदर्शन निराशाजनक रह्यो र सिजनको मध्यमा धोनीलाई पुनः कप्तान नियुक्त गरियो ।
यता पछिल्लो केही सिजनमा चेन्नईका लागि रुतुराजको प्रदर्शन उत्कृष्ट रहेको छ । गत सिजनमा रुतुराजले १६ खेलमा १४७ को स्ट्राइक रेटमा ५९० रन बनाएका थिए ।
रुतुराजले चार अर्धशतक बनाएका थिए । योसँगै आईपीएल २०२२ मा ओपनिङ ब्याट्सम्यानले १४ म्याचमा तीन अर्धशतकसहित ३६८ रन बनाएका थिए ।