काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत शुक्रबारबाट फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘ ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ देशभरका हलमा रिलिज भएको हो ।
निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘महाजात्रा’ले ३४२ भन्दा धेरै शो पाएको छ । आजै नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ । देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक भट्टराईले बताए ।
निर्देशक भट्टराईले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । उनले भने, ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । यसपटक हामीले मनोरञ्जनसँगै दर्शकलाई नेशनल इस्युलाई पनि जोडेका छौँ ।’
प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।
यो भागमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्।
यस्तै, फिल्म ‘महाजात्रा’लाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन्।
फिल्मका कलाकारमध्येका एक हरिवंश आचार्यको प्रशंसा गर्दै ओलीले भनेका छन्, ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा फिल्मको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोस्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु।’