काठमाडाैं । २०७९ पुस १० गते विद्युतीय चुरोट भेपमा ल्याइएको नाै केजी सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नाम जोडिएका पूर्व सभामुख महराको स्वास्थ अवस्थालाई ध्यान दिँदै हाजिरी जमानिमा छोड्ने तयारी अगाडि बढाइएको छ । अदालतबाट अनुसन्धानका लागि प्राप्त चार दिनको म्याद आज सकिएको छ भने बिहीबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले बयान लिइसकेको छ ।
शुक्रबार अदालतमा पेश गर्दा महराको स्वास्थ अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानिमा छोड्न अनुरोध गरिने सिआईबी निकट स्रोतले जनाएको छ । सिआईबीले सुन तस्करीमा नाम जोडिएको विषयमा महरासँग लगातार दुई दिन बयान लिएको थियो । बयान लिने क्रममा थापाथलीस्थित नर्भिक अस्पतालबाट सिआईबी मुख्यालय लैजाने र बयान सकेपछि पुनः नर्भिकमै ल्याएर भर्ना गरिदैँ आएको छ ।
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा दाेषी देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । लामिछानेकाे निर्देशनपछि गत चैत ५ गते कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएकाे थियाे ।
यही प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महराका छोरा राहुल गत भदौ १३ देखि नै थुनामा छन् ।
सिआइबीले सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग महराले सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर, पक्राउ परेको चार दिनमै उनलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएपछि अनुसन्धान प्रभावित हुनसक्ने देखिएकाे छ ।
गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा टिबी, युरिक एसिड, प्रोस्टेटलगायतका स्वास्थ्य समस्या भएकाे बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।