आईपीएलका १७ औँ संस्करणसम्म खेल्ने खेलाडी, जसले पाँच-पाँच पटक उपाधि जिताए-Sutra News

आईपीएलका १७ औँ संस्करणसम्म खेल्ने खेलाडी, जसले पाँच-पाँच पटक उपाधि जिताए

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । विश्व क्रिकेट जगतमा आफ्नै छाप बनाउन सफल भएको इण्डियन प्रिमियर लिग (आइपीएल) आज रातिदेखि सुरु हुँदैछ । १७ औँ संस्करणको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल्स च्यालेञ्जबीच भिड्ने भएको छ ।



प्रतियोगिता सुरु हुनु एक दिनअघि चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनीले आफ्नो कप्तानी जिम्मेवारी रुतुराज गायकवाडको काँधमा थमाए । पहिलो संस्करदेखि अहिलेसम्म आइपीएल खेलेका धोनीले चेन्नाईलाई पाँच पटक उपाधि दिलाए ।

धोनीले खेल सुरू हुनअघि मात्रै कप्तानी जिम्मेवारी छाड्नुले सबैलाई चकित मात्रै होइन, खेल नै नखेल्ने हुन कि ? भन्ने सोच्न बाध्य बनाए । तर, उनले प्रतियोगितामा सहभागी भए पनि मुख्य जिम्मेवारीमा नहुने भएका हुन् ।

उद्घाटन समारोह अघि कप्तानको फोटोसुटमा धोनीकाे स्थानमा गायकवाड पुगेका थिए । आईपीएल व्यवस्थापनले यो सिजन धोनीको स्थानमा गायकवाडले चेन्नईको कप्तानी गर्ने पुष्टि गरेको छ । ४२ वर्षीय धोनीको यो अन्तिम आईपीएल हुन सक्ने अनुमान गरिएको छ ।

आईपीएल प्रतियोगितामा आफ्नो टोलीलाई सय खेल जिताएका धोनी एक मात्र कप्तान हुन् । उनको कप्तानीमा चेन्नईले २२६ खेलमा सहभागी जनायो । जसमा १३३ खेलमा जित निकाल्यो ।

प्रतियोगितामा विजयी हुनेमा धोनीसँगै मुम्बाई इण्डियन्सका कप्तान रोहित शर्माले बराबरी बनाएका छन् । धोनीको कप्तानीमा चेन्नाई र शर्माको कप्तानीमा मुम्बाई पाँच-पाँच पटक आइपीएलमा विजयी भएको छ ।

तर, रोहितले आफ्नो कप्तानीमा टोलीलाई सयभन्दा बढी आईपीएल खेल जिताउन सकेका छैनन् । अहिले उनी टोलीको कप्तानी जिम्मेवारीमा छैनन् । उनको ठाउँमा हार्दिक पाण्डेय पुगेका छन् ।

आईपीएलको १७ ‍औँ संस्करण सुरु हुन लाग्दा पाँच खेलाडी पनि सहभागी हुँदै छन् । जुन अरू खेलाडीभन्दा धेरै अर्थमा महत्वपूर्ण रहने छ । यी खेलाडीले लगातार १६ औँ संस्करणसम्म खेल्दै आएका छन् । उनीहरू अब १७ औँ संस्करणमा खेल्दै छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि अहिलेसम्म खेल्ने खेलाडी यी हुन्

महेन्द्रसिंह धोनी

भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका धोनीले आईपीएलमा पनि सफल कप्तानको रुपमा खडा भएका छन् । उनको नेतृत्वमा चेन्नईले पाँच पटक उपाधि रक्षा गरेको छ । यस्तै, १३३ खेलमा विजयी भएको छ ।

यसपटक धोनी चेन्नईबाट खेल्दै आफ्नो आइपीएल करियर सुखद् अन्त्य गर्न चाहन्छन् । गत वर्ष उपाधि रक्षा गरेको धोनीले यस संस्करणमा कप्तानीको जिम्मेवारी भने रुतुराजको काँधमा थमाएमा छन् । यसबीचमा धोनी दुई सिजन राइजिङ पुणे सुपरजाइन्ट्सबाट खेलेका थिए ।

रोहित शर्मा

भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत हुन्, रोहित शर्मा । उनी विश्व क्रिकेटमा प्रभावशाली खेलाडीका रुपमा रहेका छन् । उनले पनि पहिलो संस्करणदेखि आईपीएल खेल्दै आएका छन् ।

आईपीएलको पहिलो सिजनमा डेक्कन चार्जस हैदराबादको प्रतिनिधित्व गरेका शर्मा सन् २०११ देखि मुम्बई इण्डियन्सबाट आईपीएल खेल्दै आएका छन् । धोनीसँगै उनी पनि आईपीएलको इतिहासमा सफल खेलाडी हुन् ।

शर्माको कप्तानीमा मुम्बईले पाँच पटक उपाधि हात पारेको छ । आईपीएलको १७ औँ संस्करणमा उनी मुम्बईबाटै खेल्दै छन् । तर, उनी कप्तानको भूमिकामा हुने छैनन् ।

विराट कोहली

भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली हालसम्म आईपीएलमा कप्तानको भूमिकामा देखिएका छैनन् । तर, उनी प्रभावशाली खेलाडी हुन् । उनले पनि सन् २००८ देखि नै आईपीएल खेल्दै आएका छन् ।

त्यसयता उनी हरेक संस्करणमा सहभागी हुँदै आएका छन् । यसपटक कोहली रोयल च्यालेन्जर्स बैंग्लुरुबाट खेल्दै छन् । उनी पहिलो संस्करणदेखि हालसम्म एउटै टोलीबाट खेल्दै आएका छन् ।

दिनेश कार्तिक

दिनेश कार्तिक पहिलो संस्करणदेखि आइपीएल खेल्ने खेलाडीका रुपमा छन् । यस अवधिमा उनले विभिन्न विभिन्न टोलीबाट खेल्दै आए ।

पहिलो संस्करणमा पञ्जाब किङ्सबाट खेलेका उनी दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्सबाट खेलेका छन् । यो संस्करणमा उनी विराट कोहलीसँग एउटै टोलीमा देखिने छन् ।

शिखर धवन

भारतीय राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी हुन्, शिखर धवन । उनी पनि पहिलो संस्करणदेखि आईपीएल खेल्दै आएका छन् । पहिलो संस्करण उनले मुम्बई इन्डियन्सबाट खेलेका उनी यो संस्करणमा पञ्जाब किङ्सका कप्तान हुन् ।

यसका अतिरिक्त उनले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबाट पनि खेले । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट