काठमाडौं । उपेन्द्र बहादुर आङ्देम्बे जो उपेन्द्र सुब्बा भनेर चिनिन्छन् । उनी नेपाली कवि, गीतकार र लेखक हुन्। कबड्डी शृंखला, तान्द्रो, देश खोज्दै जाँदा, पुरानो डुंगा लगायत फिल्मका पटकथा लेख्नुअघि उनी कथाकार थिए। त्यसअघि कवि र अझअघि गीतकार। जसरी चिनिए पनि उनको परिचयको केन्द्रमा लेखक थियो। योसँगै उपेन्द्रको परिचय फिल्म निर्देशक भनेर पनि थपिएको छ । उनले २०२३ मा फिल्म ‘जारी’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए, जसलाई उनले लेखेका थिए। जुन नेपालीको धेरै व्यापार गर्ने फिल्म बनेको छ।
सोही ब्लकबस्टर फिल्म ‘जारी’का फेम्ड निर्देशक सुब्बाको आगामी अर्थात् दोस्रो फिल्म ‘मनसरा’ आगामी वैशाख २१ गतेबाट प्रदर्शन हुँदै छ। यस पटक पनि उनले ‘मनसरा’मा जातीय सम्बन्धलाई कथाको मियो बनाएका छन् ।
सोसल-ड्रामा रहेको अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्मले शहरको छेउमा बस्ने भुईमान्छेको कथा भन्ने प्रयास गरेको बुझ्न सकिन्छ । यस फिल्मबाट निर्देशक सुब्बा निकै आशावादी पनि देखिएका छन् । उनका अनुसार यो फिल्मले समुदायमा रहेका फरक-फरक जातिका मानिसहरूको कथा भन्ने बताउँछन् ।
हुन् त, फिल्म ‘जारी’ ब्लकबस्टर भए उनी ‘जारी २’ बनाउन आफूलाई खासै रहर नभएको बताउँछन् । उपेन्द्र घुमाउरो शौलीमा भन्छन्, ‘मलाई जारी २ बनाउन साह्रै रहर त छैन । तर, कहिलेकाहीँ पैसाको समस्या हुँदा बनाऊँ जस्तो पनि लाग्छ । तर, जुन मज्जा नयाँ कथा भन्दा छ नि, त्यो सिक्वेलमा हुँदैन । नयाँ कथामा नयाँ पात्रसँग काम गर्न मज्जा हुन्छ । अब, सिक्वेलमा त उही पुरानै पात्र राख्यो, यसो जोडजाड गर्यो त्यही त हो नि । त्यसैले मलाई सिक्वेल बनाउने रहर छैन।’
जारिमा लिम्बु समुदायको कथा भनेका उपेन्द्रले उनको आगामी फिल्म ‘मनसरा’मा पनि लिम्बु समुदायकै कथालाई अलिक जोड दिएको देखिन्छ । ‘मनसरा’मा लिम्बु जातिको मात्र नभएर सम्पूर्ण समुदायको कथा उठाएको सुब्बा बताउँछन् ।
उनलाई यो फिल्ममा लिम्बु समुदायको कथा मात्र भनेको देखिन्छ, आगामी फिल्ममा चाहिँ कुन समुदायको कथा भन्न मन छ भनेर प्रश्न गर्दा उपेन्द्रले ‘आफूलाई अब च्याङ्ग्राको कथा भन्न मन छ’ भनेर जवाफ दिएका छन् । उनी भन्छन्, ‘मानिसको समुदायको मात्र हैन अरू समुदायको पनि कथा हुन्छ जुन मलाई भन्न मन छ । मलाई एउटा च्याङ्ग्राको कथा भनुम कि भन्ने दिमागमा आएको छ । हेरौँ सक्छु कि सक्दिनँ । हुन त मलाई मेरो समुदायकै कथा भन्न सहज हुन्छ । किनकि, लिम्बु जातिको सबै रहनसहन, परिवेश मलाई थाहा छ । तर, सधैँ सहजता मात्र खोजेर पनि हुँदैन नि । आखिर मानिसले अप्ठ्याराहरू पनि खोज्नु पर्ने रहेछ ।’
साथै, फिल्म भनेको दिमागमा रहँदा मात्र आनन्द आउने विषय रहेको उपेन्द्रले बताए । उनले भने, ‘फिल्म फेरि सम्झिँदा सम्म मात्र आनन्द हो । दिमागमा बनाउँदासम्म मात्र यसको मज्जा आउँछ । खिच्ने बेलामा रामराम । खिच्दै गयो बिग्रँदै जान्छ ।’