काठमाडाैं । उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्यको रूपमा अष्ट्रेलिया रहँदै आएकाे छ । गुणस्तरीय शिक्षा र आकर्षक आम्दानीकाे कारण नेपाली विधार्थीहरू अष्ट्रेलिया जान लालायित हुने गर्दछन् ।
तर, पछिल्लाे समय बाक्लिँदाे आप्रवासीकाे संख्यासँगै अष्ट्रेलियाले आप्रवासनसम्बन्धी नीतिमा पनि परिवर्तन गर्न थालेकाे छ । अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेकाे छ ।
सञ्चारमाध्यमले जनाएअनुसार अष्ट्रेलियाले यसै सातादेखि विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लगाउने भएकाे छ । आप्रवासीको संख्या नयाँ उचाईमा पुगेपछि विद्यार्थी भिसामा कडाइ गर्न लागेको सञ्चारमाध्यमहरूले पनि जनाएका छन् ।
शनिबारदेखि लागू हुँदै गरेकाे नयाँ व्यवस्थामा विद्यार्थीका लागि अंग्रेजी भाषामा थप दख्खल हुनुपर्ने बताइएकाे छ । कलेज र विश्वविद्यालयलगायत शिक्षा प्रदायकहरूले बारम्बार नियमहरू उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाटै रोक लगाउने अष्ट्रेलियन सरकारकाे चेतावनी छ ।
यी कडा प्रावधानहरूले आप्रवासीको स्तरलाई तल ल्याउन मद्दत गर्ने अष्ट्रेलियाली गृहमन्त्रालयको अपेक्षा छ । अष्ट्रेलियाको पछिल्लो आधिकारिक तथ्यांकले आप्रवासीहरूको संख्या उच्च गतिमा बढेको देखाएको छ । जसले गर्दा पहिलेदेखि नै चापमा रहेको रेन्टल (आवास) बजारलाई अझै दबाब बढाउने आकंलन गरिएको छ ।
यसैगरी, पढ्ने बहानामा रोजगारीको लागि अष्ट्रेलिया जान खोज्ने विदेशी विद्यार्थीहरूलाई कडाई गर्न एक नयाँ वास्तविक विद्यार्थी परिक्षण प्रणाली पनि लागू गरिने भएको छ भने पर्यटक भिसामा अष्ट्रेलिया जान चाहनेहरूका लागि पनि थप नबस्ने नो फर्दर स्टेका सर्तहरू लागू हुनेछन् ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ सेप्टेम्बरसम्ममा कुल आप्रवासीहरूको संख्या ६० प्रतिशतले बढेर हालसम्मकै उच्च ५ लाख ४९ हजार पुगेको छ भने अष्ट्रेलियाको जनसंख्यामा पनि २.५ प्रतिशतको रेकर्ड स्तरमा वृद्धि भएको छ ।