हाजिरी जमानतमा छुटे कृष्णबहादुर महरा-Sutra News

हाजिरी जमानतमा छुटे कृष्णबहादुर महरा

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो।



केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको पुष्टि गरे ।

हिरासतमुक्त भएपनि उनीमाथिकाे अनुसन्धान भने जारी रहने जनाइएकाे छ । सुन प्रकरणमा महरामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

सिआईबीले सुन तस्करीमा नाम जोडिएको विषयमा महरासँग लगातार दुई दिन बयान लिएको थियो । बयान लिने क्रममा थापाथलीस्थित नर्भिक अस्पतालबाट सिआईबी मुख्यालय लैजाने र बयान सकेपछि पुनः नर्भिकमै ल्याएर भर्ना गरिदैँ आएको छ ।

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा दाेषी देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । लामिछानेकाे निर्देशनपछि गत चैत ५ गते कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएकाे थियाे ।

यही प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महराका छोरा राहुल गत भदौ १३ देखि नै थुनामा छन् ।

सिआइबीले सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग महराले सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर, पक्राउ परेको चार दिनमै उनलाई हाजिर जमानीमा छाडिएसँगै अनुसन्धान प्रभावित हुनसक्ने देखिएकाे छ ।

गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा टिबी, युरिक एसिड, प्रोस्टेटलगायतका स्वास्थ्य समस्या भएकाे बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट