काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारको नाममा ल्याएकाे छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याएकाे हाे ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको जनाएकाे छ । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले मालपोत ऐनमा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको जग्गा भएको ठहर्याई नेपाल सरकारको नाममा ल्याएकाे बताए ।
“सीआइबीको सहयोगमा हामीले यसलाई थप अनुसन्धान गरेर मन्त्रालय र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा ल्याउने लामो समयदेखि प्रक्रियामा थियो, आज अन्तिम टंगो लगाएका छौँ”, उनले भनेका छन्, “मालपोत ऐनमा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको जग्गा भएको ठहर्याई नेपाल सरकारको नाममा ल्याएका छौँ ।”
कानूनअनुसार सरकारको जग्गाको हक हस्तान्तरण गर्दा मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृति चाहिन्छ । तर, बाँसबारी छालाजुत्ताको १० रोपनी सरकारी जग्गा तत्कालीन च्याम्पियन फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन । २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगिएको थियो ।
याे जग्गाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाे थियाे । सीआईबीले यस घटनामा कांग्रेस सांसद विनाेद चाैधरी र व्यवसायी अरूण चाैधरीलगायतसँग बयान लिएकाे थियाे ।