काठमाडौं । तीन दिनअघि धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक एकान्त खोल्सामा मृत भेटिएकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सुमनाको हत्यामा संलग्न अभियुक्त भनिएका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो । उनी सुमनाको प्रेमीसमेत रहेका खुलेको छ ।
यही बुधबार दिउँसो करिब ३ बजे सुमनाको शव भेटिएको थियो । घटनामाथि प्रहरीले अनुसन्धान गर्दै जाँदा १९ वर्षीय सविन भन्ने बाबुरामलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनीहरूबीच दुई वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध थिए । गत पुसमा सुमना ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग नजिकिएकी थिइन् ।
आफूसँग प्रेमिका छुट्टिने भएसँगै बाबुराम र सुमनाबीच विवाद सुरु भएको थियो । सोही क्रममा गत २ गते बाबुराम धनकुटा पुगेका थिए । यसबीच उनीहरूको सम्बन्ध झनै दरार आएको प्रहरीले जनाएको छ ।
गत ६ गते सुमनालाई भेट्न बाबुराम धरान पुगेका थिए । सोही दिनको साँझ उनीहरूबीच भेट भएको देखिन्छ । भेटमा बाबुरामले सुमनालाई आफ्नो स्कुटर चलाउन सिकाएका थिए । सोही रात ९ बजेको सुमनाको हत्या भएको प्रहरीको दाबी छ ।
योजनाअनुसार बाबुरामले साथमा लगेको खुकुरी निकालेर सुमनाको घाँटी रेटेर हत्या गरी खोल्सामा फालेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । उनलाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।