काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।
आयोजना निर्माण भएपछि १३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नु पर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताए ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो ।
आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए ।