काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूहरूले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी गरेका छन् । शनिबार दाङमा एका कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जान कुनै हतार नभएको बताए ।
‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन, सत्तामा जान अप्राकृतिक प्रपञ्च गर्न जरुरी छैन, हामीलाई परिस्थितिले नै सत्तामा लान्छ, यो गठबन्धन आफैं ढल्छ, अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ,’ उनले भने, ‘जनता र परिस्थितिको चाहनाअनुसार हुन्छ, त्यसैले हामीलाई हतारो छैन ।’
यस्तै, उनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई लत्याएर बेइमानी गरेको बताए । उनले भने, ‘माओवादीका अध्यक्ष तेस्रो दलको नेता हो, हामीले उहाँलाई प्रधानमन्त्रीमा समर्थन गरिराख्दा पनि उहाँले कांग्रेसको समर्थनलाई लत्याएर नयाँ गठबन्धन गर्नु भयो, हामी प्रष्ट ढंगले भन्छौं, बेइमानी माओवादी र प्रचण्डको हो ।’
सांसद पौडेलले कांग्रेसको भन्दा आधा सीट भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु गलत भएको बताउँदै भने, ‘कांग्रेसको सीटभन्दा आधा कम भएको पार्टी हो माओवादी, त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो ।’
नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गरे । संसदमा प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाइएको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीले गठबन्धन तोड्दै गर्दा कसैमाथि प्रश्न उठेको छ भने त्यसलाई मन्त्रीमण्डलमा ल्याउँदैनौं भन्नु भएको थियो, हामीले अहिले उहाँ (गृहमन्त्री)को राजीनामा भनेको होइन, राजीनामा दिने र नदिने उहाँको नैतिकताको विषय हो,’ उनले भने, ‘हामीले छानबिन हुनुपर्छ, छानबिन प्रभावित हुनु हुँदैन भनेका हौँ, संसदीय छानबिन गर्नु उहाँको लागि पनि राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’
उनले संसदमा अवरोध गरेर कांग्रेसले आफ्नो सिद्धान्तमाथि प्रहार नगर्ने संकेत गरे ।