काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएका प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहमन्त्रालयले बेग्लै समिति बनाएको छ ।
दोषी देखिएका प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहमन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा समिति बनाएको हो । रिजाल नेतृत्वको समितिमा प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यको रुपमा छन् ।
आयोगले सुन तस्करी छानबिन प्रक्रियामा त्रुटि गरेका अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । तर, आयोगले आफ्नो प्रतिवेदनमा कसलाई कस्तो खालको कारबाही गर्ने भन्ने उल्लेख नगरेकाले गृहमन्त्रालयले समिति बनाएर कारबाहीको निर्णय गर्न लागेको हो ।
आयोगले तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको छ ।
गत साउनमा २ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको ९ किलो सुन तस्करी प्रकरणलगायतमा अनुसन्धान लागि भन्दै सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा छानबिन आयोग बनाएको थियो । पूर्वन्यायाधीश आचार्य नेतृत्वको छानबिन आयोगले गत चैत १ मा गृह एवम् उपप्रधानमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।