काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नप्रति एमालेले विरोध जनाएको छ । लामिछानेको सन्दर्भमा कांग्रेसले द्वैध चरित्र देखाएको एमालेको आरोप छ ।
लामिछानेमाथि कांग्रेसको आरोप राजनीतिक प्रतिशोध साँध्न लगाइएको एमालेको आरोप छ । “प्रधानमन्त्रीका निम्ति आफैँले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीको रूपमा अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधको तर्कबाहेक अरू केही हुन सक्दैन,” आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदिप ज्ञवालीले भने ।
यद्यपि, एमालेले औपचारिक निकायमा प्रमाणसहित उजुरी परेमा लामिछानेले छानबिनका लागि मार्ग प्रशस्त गर्ने ज्ञवालीको भनाई छ । “भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने नैतिक रूपमा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ”, उनले भनेका छन् ।
कांग्रेसले पूर्वाग्रहको राजनीति गरिरहेको ज्ञवालीको आरोप छ । अर्थहिन विषयमा संसदलाई बन्धक बनाउनु सही नभएको उपमहासचिव ज्ञवालीको भनाई छ ।