के रविले एमाले उम्मेदवार सुहाङलाई सघाउलान् ?-Sutra News

के रविले एमाले उम्मेदवार सुहाङलाई सघाउलान् ?

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले प्रतिनिधिसभाअन्तर्गतको उपनिर्वाचनमा उम्मेदवार तय गर्दै गर्दा सत्ता साझेदार दलहरुको पनि साथ खोजेको छ । इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउँदै गर्दा एमालेले साझेदार दलबाट सहयोग पाउने बताएको छ । एमालेले सत्ता साझेदारमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग खोजेको देखिन्छ ।



सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदिप ज्ञवालीले रास्वपाबाट सहयोग पाउने अपेक्षा व्यक्त गरे । “हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ, धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ”, ज्ञवालीले भनेका छन्, “उहाँहरू (रास्वपा)लाई सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ ।”

सत्ता साझेदार दलहरुभित्र उपनिर्वाचनमा संयुक्त उम्मेदवार बनाउने गरी पनि छलफल चलेको थियो । विशेषगरी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच साझा उम्मेदवार बनाउनुपर्ने कुरा नेताहरुले बताएका थिए ।

जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई साझा उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, एमालेले एकल निर्णय गरेसँगै तीन दलबीच साझा उम्मेदवार बनाउने विषय सेलाएको छ ।

नेम्वाङलाई एमालेले उम्मेदवार नबनाएको खण्डमा रास्वपाले उम्मेदार बनाउने चर्चा राजनीतिक वृत्तमा चलेको थियो । रास्वपाको सहयोग खोज्नुलाई पनि सोही कोणबाट हेरिएको छ ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको थियो । एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएका थिए ।

यस्तोमा ठूलो जनमत आफ्नो पक्षमा रहेको आंकलन गरेको एमालेले रास्वपाको सहयोग पाएमा चुनाव जित्न सकिने अड्कल गरेको देखिन्छ । यद्यपि, रास्वपाले सघाउने विषय अन्योल छ । रास्वपाले सबै चुनावमा एकल हिसाबले प्रतिस्पर्धा गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट