काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा निर्वाचनमा टिकट दिएको हो ।
कंगना आफ्नो गृह प्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भाजपाको उम्मेदवार बन्ने भएकी हुन् । आइतबार भारतीय जनता पार्टीले सार्वजनिक गरेको उम्मेदवारहरूको सूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ ।
कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने सङ्केत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘आमाले चाहनु हुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।’
टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै भनेकी छन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।’
कंगनाले पार्टीमा औपचारिक रूपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् ।
पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिँदै आएको थियो ।
यता, अभिनेता अरुण गोविललाई पनि भाजपाले आगामी लोकसभा चुनावको उम्मेदवार बनाएको छ । ‘रामायण’ सिरियलमा भगवान रामको भूमिका निर्वाह गरेका गोविलले उत्तर प्रदेशको मिरुत क्षेत्रबाट चुनाव लड्नेछन् ।
अभिनेता गोविल हालै अभिनेत्री अनुराधा पौड्यालसहित बीजेपीमा प्रवेश गरेका थिए ।