एमालेले सुहाङलाई अघि सार्दा झलनाथको योजनामा तुसारापात-Sutra News

एमालेले सुहाङलाई अघि सार्दा झलनाथको योजनामा तुसारापात

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल वैशाख १५ मा हुँदै गरेको उपनिर्वाचनमा इलाम–२ बाट उठ्ने तयारीमा देखिन्थे । उनले विभिन्न ठाउँमा उक्त चाहनालाई व्यक्त पनि गरेका थिए ।



विशेषगरी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरण बनेसँगै खनालले उत्साहपूर्ण शैलीमा अभिव्यक्ति पनि दिइरहेका थिए । हुन पनि धेरैको आकंलन नयाँ समीकरणभित्रबाट खनाल सर्वसम्मत इलाम–२ बाट उम्मेदवार हुन्छन् भन्ने थियो । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकताको सन्दर्भमा भइरहेको चर्चालाई पनि खनालको उम्मेदवारीसँग जोडेर हेरिएको थियो ।

तर, एमालेले एकलरुपमै इलाम–२ मा उम्मेदवार तय गरेसँगै खनालको योजनामा तुसारापात लागेको छ । एमालेले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङ्ग पुत्र सुहाङ नेम्वाङ्गलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । योसँगै संसद फर्किने खनालको योजना असफल हुने देखिएको छ ।

यद्यपि, एकीकृत समाजवादीले समाजवादी मोर्चाभित्र छलफल गरेर उम्मेदवार तय गर्ने बताएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाको साझा उम्मेदवार तय हुने बताएका छन् । यस्तोमा खनालको नाम अघि आउने देखिन्छ ।

तर, जनमतका हिसाबले कमजोर देखिएको समाजवादी मोर्चाबाट चुनाव लड्दा खनालले जित्ने सम्भावना कम देखिन्छ । यसअघिको चुनावमा प्राप्त मतलाई हेर्दा इलाम–२ मा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको मत प्रतिस्पर्धी बन्ने खालको छैन ।

हार्ने सम्भावना अधिक भएको चुनावमा खनाल उठ्लान् कि नउठ्लान् हेर्न बाँकी नै छ । यद्यपि, पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा खनालको योजनामा तुसारापात लागेको स्पष्ट हुन्छ ।

सम्बन्धित समाचार

सत्ताको नेतृत्वकर्ता माओवादीलाई किन छुँदैन उपनिर्वाचनले ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट