प्रसाइँको पक्षमा सर्वोच्चले आदेश दिएपछि गोविन्द केसी आक्रोशित : अराजकतालाई प्रोत्साहन गरियो-Sutra News

प्रसाइँको पक्षमा सर्वोच्चले आदेश दिएपछि गोविन्द केसी आक्रोशित : अराजकतालाई प्रोत्साहन गरियो

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाइँको मेडिकल कलेज बी एन्ड सीबारे सर्वोच्च अदालतले दिएको फैसलाले चिकित्सा शिक्षा ऐनकै मर्ममा प्रहार गरेको टिप्पणी गरेका छन् । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै केसीले सर्वोच्चको फैसलाले अराजकतालाई फाइदा पुर्‍याउन सक्ने बताए ।



“फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा)आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ”, केसीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

फैसलाको हालसम्म संक्षिप्त रूप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको पनि केसीले टिप्पणी गरेका छन् । साथै, यही फैसलाका आधारमा सम्बन्धनको प्रक्रियालाई अगाडि बढाइए स्वीकार नगर्ने चेतावनी केसीले दिएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, “यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लंघन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।”

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने उल्लेख गर्दै डा. केसीले ऐन प्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट)मा जानुपर्ने बताएका छन् ।

यद्यपि ऐनअनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्‍याएर गरिने काममा भने आपत्ति नहुने उनको भनाई छ ।

“प्रचण्ड सरकारलाई हाम्रा मागहरू तुरुन्त पूरा गर्न र सम्झौताहरू कार्यान्वयन गर्न पुनः स्मरण गराउँछौँ । अन्यथा, कुनै बेला पनि सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुने जानकारी पनि गराउँछौँ”, उनले विज्ञप्तिमा भनेका छन् ।

सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदी संयुक्त इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट