काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरति हमाल सकुशल फेला परेकी छन् । आफ्नी छोरी भारतको गोवामा सकुशल भेटिएकी मेयर हमालले बुधबार बिहान सामाजिक सञ्जालमार्फत नै जानकारी दिएका हुन् ।
‘सबै शुभचिन्तकको खोजीको प्रयासले आफ्नी जेठी छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नुहुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु। साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसँगै भएको सम्पूर्णमा जानकारी गर्दछु।’
मंगलबार हमालले आफ्नी छोरी भारतको गोवा राज्यबाट बेपत्ता भएको जानकारी दिँदै खोजीका आम सर्वसाधारण र शुभ चिन्तकसँग अपिल समेत गरेका थिए । मेयर हमालकी छोरी आरती के-कति कारणले हराएकी हुन् र कहाँ भेटिइन भन्ने विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । छोरी गोवामै रहेको र फोनमा कुरा भएको मेयर हमालले बताएका छन् ।
सोमबारदेखि परिवारको सम्पर्कमा नरहेपछि मेयर हमालले सार्वजनिक अपिल गरेपछि उनको परिवारसँग सम्पर्क स्थापित भएको हो । मेयर हमालकी छोरी आरती ओशो साधक रहेको र उनी ध्यान गर्न केही महिना अगाडिदेखि नै गोवा पुगिएको बुझिएको छ ।