काठमाडौं । नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी २० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।
आयरल्याण्डले दिएको २२५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १८४ रनमा अलआउट भएको हो । मध्यक्रम खेलाडी चल्न नसक्दा नेपालले हार बेहोरेको हो ।
नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रन बनाए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए । कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए ।
मध्यक्रममा बासिल अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले योगदान दिन सकेनन् । आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो ।
आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले ।
त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।
नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए । त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए ।