शोकमाथि शोक थपिँदा…-Sutra News

शोकमाथि शोक थपिँदा…

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका ७ पौवाखेतका ४० वर्षीय शंकर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिंगो परिवार शोकमा परेको थियो ।



उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शंकरको पशुपति आर्यघाटमा गएराति अबेर दाह संस्कार गर्न गाउँबाट काठमाडौं आएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो ।

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाह संस्कारको काम सकेर गाउँमै काज किरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थिइन् ।

घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।

निक्कैबेर प्रतिक्षापछि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए ।

तत्कालै चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्‍यो ।

घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटना स्थलबाट पाँच जनाको शव निकाल्यो । घटनामा परेका एक जना अझै बेपत्ता छन् ।

क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्किंने छैन ।

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन भएका शंकारका छोरा हुन् । मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकासमेत बोल्न र सम्झाउन सक्ने अवस्था छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट