काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले त्रिकोणात्मक टि-२० सिरिजअन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग खेल्दै छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार २:४५ बजे सुरु हुनेछ ।
नेपाल, गुजरात र बरोडाबिच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रीमियर कपको तयारीको लागि नेपाल भारत भ्रमणमा निस्किएको हो । भारत भ्रमणमा जानु अगाडि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्धको दुबै टि-२० म्याचमा जित निकालेको नेपाल उच्च मनोबलका साथ भारत भ्रमणमा निस्किएको छ ।
रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी समेटेर खेलाडी घोषणा गरेका बरोडा र गुजरात पनि बलियो टिम भएकोले आजको खेलमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । गुजरातको कप्तानी उमांग कुमारले सम्हाल्दा नेपालको कप्तानी रोहित कुमार पौडेलले सम्हाल्दा नेपालका कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको प्रदर्शनले नेपाली टिमको भाग्यको फैसला गर्ने छ ।
डेथ ओभरको बलिङ र मध्य तथा तल्लो क्रमको ब्याटिङमा सुधार नभएको अवस्थामा भने नेपाललाई आजको खेल कठिन पनि हुन सक्ने आकलन गरिएको छ । दोस्रो खेलमा नेपालले चैत २० गते बरोडाको सामना गर्ने छ । आज हुने गुजरात र नेपाल बीचको खेल कसले जित्ला ? नेपालको प्रदर्शन कस्तो रहला ?