काठमाडौं । पाकिस्तानी क्रिकेटर बाबर आजम फेरि कप्तानको भूमिकामा फर्किएका छन् । पाकिस्तान क्रिकेट बोर्डले उनलाई टी २० र एक दिवसीय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो ।
क्रिकेट बोर्डले सर्वसम्मत रुपमा बाबरको नाम सिफारिस भएकाले फेरि टी २० र एक दिवसीय टिमको कप्तानको जिम्मेवारी दिएको जनाएको छ । यसअघि टी २० मा शाहीन शाह अफ्रिदी र टेस्टमा शान मसुदलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।
चार महिनाअघि भारतमा भएको एक दिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि आजमले पदबाट राजीनामा दिएका थिए । उनी पहिलो पटक सन् २०१९ मा पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका थिए ।
पाकिस्तानले आगामी जेठमा हुने टी २० विश्वकपअघि बाबरलाई नै कप्तानको रुपमा फर्काएको हो ।