काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको माग दाबी गरी मुद्दा दायर गरेको छ ।
विभागका अनुसार कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर भएको हो । विभागले यस कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र सोही रकम बराबर जरिवाना दाबी गरेको हो ।
एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय माग दाबी गरी अभियोग दायर गरिएको पहिलो पटक भएको विभागले जनाएको छ । कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । अमेरिकी लगानी रहेको यो कम्पनीको एकल शेयर धनी कोटिभिटी इन्क रहेको छ ।
यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु पर्नेमा नतिरेको विभागको दाबी छ ।