काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुनेछ ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको मत आवश्यक पर्दछ । केन्द्रीय सत्ता गठबन्धनलाई हेर्दा, बागमतीमा सत्ता साझेदार दलसहित हाम्रो नेपाली पार्टी मिल्दा ठिक्क बहुमत ५७ पुग्छ ।
एमालेसँग २७, माओवादी केन्द्रसँग २१, एकीकृत समाजवादीसँग सात र हाम्रो पार्टीसँग दुई गरी गठबन्धनसँग ५७ मत देखिन्छ ।
तर, यस्तोमा सात सांसद भएको सत्ता साझेदार एकीकृत समाजवादीले विश्वासको मत दिन आनाकानी गरेको छ । एकीकृत समाजवादीले विश्वासको मत दिनेभन्दा आफैंलाई सरकारको नेतृत्व दिन माग गरेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेयले धेरै उधारो सम्झौता भएको भन्दै सरकार नेतृत्वमा आफूहरुलाई सघाउनुपर्ने बताएका छन् ।
“उधारो सम्झौता धेरै गरियो, प्रधानमन्त्रीकै उधारो सम्झौता पनि गरियो, जसको लिखत मसँगै छ”, उनले भनेका छन्, “बागमतीमा हामीलाई मुख्यमन्त्री दिनुपर्छ भन्ने हाम्रो अडान स्पष्ट छ हो, दिनुहुन्छ भने कुरा मिल्छ, नत्र अहिलेका मुख्यमन्त्रीलाई भोट हालेर सहयोग गर्दैनौं ।”
केन्द्रमा आफूहरुले सघाएकै कारण माओवादी नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीले प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ । “केन्द्रमा हामीले नसघाए के हुन्छ ? के सरकार रहन्छ ?”, पाण्डेयले भनेका छन्, “हाम्रो मत थोरै छ भनेर मिनिमाइज गर्न मिल्दैन, यदि गरिन्छ भने हामी मौन बस्छौं ।”
आइतबार सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको भागवण्डाबारे छलफल भएको थियो । तर, एकीकृत समाजवादीको अडानसँगै बैठक बिना निष्कर्ष टुंग्गिएको थियो ।
यदि एकीकृत समाजवादीलाई मनाउने अवस्था नभएको खण्डमा तत्कालै माओवादी नेतृत्वमा रहेको बागमती सरकार ढल्ने निश्चित देखिन्छ ।