२८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ-Sutra News

२८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट स्रोत नखुलेको रकमसमेत बरामद गरेको छ ।



गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार ९७० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका ७ घर भई मलंगवा नगरपालिका ९ मा फोन सिटी मोबाइल पसल सञ्चालक ४० वर्षका आरिफ अन्सारी छन् ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका ९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा नौ लाख ९० हजार जम्मा गर्ने दुई वटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलसमेत छापा मारेको थियो ।

पसलबाट स्रोत नखुलेको थप १७ लाख ७५ हजार ९७० बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको भए पनि सोमबार बिहान सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट