काठमाडौं । सत्ता साझेदारबीच प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर देखिएको किचलो तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीले प्रदेशको नेतृत्वको विषयलाई लिएर राखेको अडानमा दलहरुबीच सहमति भएको हो ।
नेताहरुले बताएअनुसार दलहरुबीच विभिन्न प्रदेशको नेतृत्वको विषयमा आलोपालोको सहमति भएको छ । बताइएअनुसार बागमती प्रदेशमा माओवादी नेतृत्वकै सरकारले तत्काल निरन्तरता पाउने छ भने सुदूरपश्चिममा एकीकृत समाजवादीले नेतृत्व पाउनेछ ।
बागमतीमा माओवादीपछि एकीकृत समाजवादीले पालो पाउने सहमति भएको नेताहरुले बताएका छन् ।
पछिल्लो सहमतिसँगै बागमति र कर्णालीमा देखिएको सत्ता संकट हल भएको नेताहरुले बताएका छन् । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यता, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी छन् ।
जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरिरहँदा केही अडान राख्दै एकीकृत समाजवादीले सहयोग नगर्ने निर्णय सुनाएको थियो । आइतबार बसेको सत्ता गठबन्धनको बैठक एकीकृत समाजवादीको अडानसँगै बिना निष्कर्ष टुंग्गिएको थियो ।