काठमाडौं । रामेछापका गणेश पाठकको हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका ३ का वडा सदस्य ४० वर्षीय लालबहादुर थापा मगर पक्राउ परेका छन् ।
वडा सदस्य मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगर ३२ जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
गत असार २० गते दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो । खेतमा पानी लगाउन हिँडेका पाठकको चार दिनपछि शव फेला परेको थियो ।
पीडित पक्षले दोरम्बा शैलुङ गाउँपालिका ५ का रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ ३ का प्रकाश कँडेल र वडा सदस्य लालबहादुर थापा मगरविरुद्ध किटानी जाहेरी दिएका थिए ।