काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पार्टीभित्रको आन्तरिक विवाद चरमतामा पुगेको छ । आन्तरिक विवाद बढ्दै गर्दा अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश (गण्डकी र बागमती)का अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्।
अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् । संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले तामाङ र गुरूङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।
पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ ।
“नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा चैत १९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारू र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कुटपिटसमेत गरेको हुदाँ पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्काशन गरिएको जानकारी गराउँदछु”, पत्रमा भनिएको छ।
सत्ता समीकरण फेरबदलसँगै नाउपाभित्र विवाद चर्किएको छ । सत्ता समीकरणलाई लिएर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद चलेको छ ।
अध्यक्ष रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम भने विपक्षमा उभिएका छन् । यही विवादकै बीच सोमबार पार्टी केन्द्रीय कार्यालयमा बैठककै बीच नेताहरुबीच कुटाकुट भएको थियो ।