मेयर बालेनले किन भेटे शहरी विकासमन्त्री धनबहादुर बुढालाई ?-Sutra News

मेयर बालेनले किन भेटे शहरी विकासमन्त्री धनबहादुर बुढालाई ?

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहरी विकास मन्त्री धनबहादुर बुढालाई भेटेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको मन्त्री बुढालाई भेटेका हुन् । बताइएअनुसार भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अगाडि बढ्ने विषयमा छलफल भएको छ ।



भेटमा उपत्यकाको फोहोर व्यवस्थापनकाे सन्दर्भमा छलफल भएकाे बताइएकाे छ । फोहोर व्यवस्थापनमा मन्त्रालयसँग सहकार्य गर्न महानगर तयार रहेको भन्दै मेयर साहले महानगरका केही वडाबाट शून्य फोहोर कार्यक्रम शुरू गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका छन् ।

मेयर साह र शहरी विकासमन्त्रीबिचको भेटवार्तामा बञ्चरे डाँडास्थित ल्याडफिल साइटमा फोहोर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहोरको व्यवस्थापन गर्न महानगरले आवश्यक सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वञ्चरेडाँडामा जाने फोहोरको परिणामलाई कम गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको शहरी विकासमन्त्री बुढाले बताएका थिए ।

भेटवार्तामा काठमाडौं उपत्यकाको ट्राफिक जामको व्यवस्थापन र उपत्यकाको खोला किनारमा रहेका अव्यवस्थित वस्तीहटाउनका लागि सहयोग गर्न र आवश्यक समन्वय गरेर अगाडि बढ्न मेयर शाहले प्रस्ताव राखेका छन् । साथै, काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताएका थिए ।

मेयर शाह र शहरी विकासमन्त्री बुढाका अलावा मन्त्रालयका सचीव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय विभागका महानिर्देशक भरत अर्याल लगायतको सहभागीता थियो । संघीय सरकारसँग काठमाडौ उपत्यकाको विकासलाई लिएर पटकपटक टसलमा उत्रिएका मेयर शाहको मन्त्रीबुढासँगको भेटवार्तासँगै संघीय सरकार र काठमाडौ महानगरपालिका साझा सरोकारका विषयमा सँगै अगाडि बढ्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट