काठमाडौं । म्युजिक भिडियोमा टिकटकबाट आएका कलाकारहरू हाबी बनिरहेकै छन् । प्रतिभा छ भने मात्र भाइरल भएकाहरू टिक्न सक्छन् ।
कतिपयले मोडल गरिमा शमालाई ‘भाइरल’ भन्ने गर्छन् । उनी टिकटकबाट उदाएर म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा लम्किँदै गरेकी छन् ।
गरिमाको आगामी लक्ष्य भनेको फिचर फिल्म नै हो । उनको सपना नेपाली फिल्ममा चल्तीको नायिका बन्नु छ । त्यस कारण गरिमाले कुनै फिल्ममा लिड हिरोइनको रुपमा दमदार छलाङ मार्छिन् होला भन्ने उनका शुभचिन्तकसँगै उनी आफैको अपेक्षा रहेका छ ।
पहिलो फिल्म स्वरुप गरिमाले ‘लण्डन टू पेरिस’मा काम गरिन् । यो उनको डेब्यु फिल्म हो । तर, फिल्मको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह छिन् । यसैले, फिल्ममा गरिमा सह-नायिका हुन् भन्ने कुरा बुझ्न लामो समय सोच्नै पर्दैन ।
यो फिल्म आगामी जेठ २५ गतेबाट रिलिज गर्ने तयारीमा छ । फिल्म ‘लण्डन टू पेरिस’को टिमले केही दिनअघि प्रदर्शन मिति सार्वजनिक गर्दै साम्राज्ञी र निश्चल खड्का फिचर्ड गरिएको रोमान्टिक पोस्टरमा बाहिर ल्याएको थियो । यसपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गर्यो ।
अघिल्ले पटकको पोस्टरमा नदेखिएकी गरिमा दोस्रो पोस्टरमा भने साम्राज्ञी, निश्चल र कवीर खड्कासँगै सार्वजनिक गरियो । उक्त पोस्टर सार्वजनिक भएपछि गरिमाले लामो समयदेखि फिल्म खेल्ने सपना पूरा भएको भन्दै भावुक बन्दै स्टाटस लेख्न भ्याइन् ।
कविताको शैलीमा उनले लेखेकी थिइन्, ‘देखेको सपना पूरा हुने हो कि भन्ने आशा जागेको छ, ए भगवान, तिमीले त सुनेका छौँ नि मेरो प्रार्थना भन्ने लागेको छ, मन त हो– भोको छ कामका नयाँ-नयाँ चुनौती मागेको छ ।’
सपनाको खुड्किलो हिँड्न सजिलो नभए पनि आफू नथाकेको भन्दै निराश पनि नहुने बताएकी उनले थपेकी छन्, ‘चम्कन पाउँ आकाशमा उज्यालो तारा बनी, झर्दा पनि निराश भने हुने छैन, गरिमा तिमीले कोशिस त गरेको हो नि ।’
गरिमाको त्यस स्टाटसलाई बुझ्ने हो भने उनले आफूलाई फिल्म क्षेत्रमा चम्कने आशा व्यक्त गर्दै कहिले निराश नबन्ने संकेत गरेकी छन् ।
यता, यो फिल्ममा गरिमाको भूमिका के हो ? कति छ ? भन्ने त खुलेको छैन । हामीलाई प्राप्त जानकारीअनुसार फिल्ममा गरिमाको धेरे रोल नभएको बुझिएको छ । उनी सह-अभिनेत्रीकै रुपमा रहेको र मुख्य पात्रहरूसँग ठाउँठाउँमा जोडिने मात्रै बुझिएको छ । तर, फिल्म क्षेत्रमा नायिकाको रुपमा जमेर स्टार हुने सपना पालेकी गरिमाले कलाकारको भिडमा प्रवेश त गरेकी छन् ।
यो फिल्मपछि गरिमाले अर्को दुई फिल्म ‘ह्रस्व दीर्घ’ र ‘दौँतरी’मा काम गरिरहेको खबर सार्वजनिक भएको छ । यी फिल्ममा पनि गरिमाको भूमिका सह-नायिकाकै रुपमा रहेको बताइन्छ ।
अब उनले आफूलाई फिल्म क्षेत्रमा स्थापित गर्न चाहिरहेकी छन् या धेरै फिल्म खेलेर आफूलाई व्यस्त छु भनेर देखाउन खोजिरहेकी छन् ? यो उनले नै जान्ने कुरा रह्यो । तर, उनले कहिलेसम्म सह-नायिकाको रुपमा काम गर्नु पर्ने हो ? त्यो समयले नै बताउँला ।
यसैले, गरिमाको प्रवेशले फिल्ममा एक जना कलाकार थपिनुबाहेक अन्य खासै ठूलो अपेक्षा गर्ने अवस्था हुन्छ ? जस्तो देखिदैन । उनले आफ्नो थर तिमल्सिना लुकाएर शर्मा भनेजस्तै मुख्य नायिका बन्छु भन्नु उस्तै हैन र ?