पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
केन्द्रमा समीकरण परिवर्तनसँगै प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै पाण्डे अल्पमतमा थिए ।
माओवादी केन्द्रले गत फागुन २३ मा समर्थन फिर्ता लिएको थियो । संवैधानिकरुपमा अल्पमतमा परेका पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।
उनले विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिएका हुन् । गण्डकीमा दुई सांसदसहित निर्णायक देखिएको राप्रपाले साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसदसहित नेपाली कांग्रेस ठूलो दल हो। तर, कांग्रेसलाई बहुमतका लागि थप ४ सदस्यको खाँचो छ ।
गण्डकीमा एमालेका २२, माओवादी केन्द्रका (सभामुखसहित) ८ र एकीकृत समाजवादीका एक सांसद छन् ।