काठमाडौं । फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ले दर्शकहरुको निकै ध्यान केन्द्रित गरिरहेको छ । नयाँ वर्षको अवसर पारेर चैत्रको ३० गतेबाट प्रदर्शनमा आउन लागेकाे यो फिल्म संवाद र ट्रेलरका कारण पनि दर्शकहरुको निकै ध्यान केन्द्रित गरेको देखिन्छ ।
यस फिल्मबाट दर्शकले निकै आश गरेको देखिन्छ । फिल्मले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशालाई पोखिएको छ । डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ भने आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रमार्फत मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको छ ।
नजिकबाट नियालिरहेका दर्शकका लागि प्रतिक्षित बन्दै यो फिल्म बन्दै गइरहेको छ । चैत ३० गते नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको छ ।
फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गर्दैछ । सेभेन सिजका अनुसार फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ ।
फिल्म अमेरिकाका ४० बढी शहरमा ४ सय बढी शोमा ‘डिग्री माइला’ रिलिज हुँदैछ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।
यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत मञ्चन भइसकेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता छन् ।
फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ ।