पाेखरा । गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
बहुमतकाे सरकार गठन गर्न प्रदेश प्रमुखले चैत २७ गते दिउँसो ३ बजेसम्मकाे समय दिएका छन् ।
प्रदेश प्रमुख भट्टले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
बुधबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए ।