काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी २० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाली टोलीले गुजरातलाई १८२ रनको लक्ष्य लिएको छ ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङले नेपालले १८१ रन बनाएको हो । नेपालका लागि भुर्तेलले ४४ बलमा ६७ रन बनाए । पहिलो विकेटका रुपमा नेपालले भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए ।
यस्तै, आसिफले ५१ बलमा ८५ रन बनाएर आउट भए । उनले पाँच छक्का र १० चौका प्रहार गरे ।
पछिल्लो तीन ओभरमा नेपालले लगातार विकेट गुमाउँदा २० ओभरमा १८१ रन बनाउन सक्यो । कप्तान रोहित पौडेलले सात बलमा जम्मा तीन रन बनाए । सन्दीप जोराले २, कुशल मल्ल १, गुल्सन झा ४, विवेक यादव ७, प्रतिश जिसीले ४ रन बनाउँदा अनिल शाह डकआउट भए ।
बलिङतर्फ आर्य देशाई र दुर्शन्त सोनीले समान २-२ विकेट लिए । जयमित पटेलले सर्वाधिन ३ विकेट लिए ।
राज्य स्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ खेल्न गुजरातले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
नेपालको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुवै खेलमा विजयी भएको नेपाल आजको खेलमा विजयी हुँदै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा गुजरात ८ विकेट र दोस्रो खेलमा बरोडालाई पराजित गरेको थियो ।