काठमाडौं । माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर, माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिन अस्वीकार गर्दै आएका थिए । उनले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने अडान लिएका थिए ।
तर, पछिल्लो सहमतिपछि शर्मा पछि हटे ।
राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री शर्माले आफू नेतृत्वको सरकारले गरेको कामको फेयरिस्त बताएका थिए । उनले आफूले परिवेश बदलिएकाले राजीनामा दिएको बताएका छन् ।
शर्माले आफ्नो सम्बोधनको क्रममा राजनीतिक अस्थिरताले जनताको भावनालाई सम्बोधन गर्न नसकिने परिस्थिति बनेको बताएका छन् । उनले घुमाउरो शैलीमा आफू पदबाट राजीनामा दिन बाध्य बनेको बताएका छन् ।
शर्माले राजीनामा घोषणा गरेसँगै विश्वासको मत लिने प्रक्रिया टुंग्गिएको छ ।
प्रदेशमा माओवादी केन्द्र र एमाले मिल्दा मात्रै बहुमत पुग्छ । दलहरुबीच भएको सहमतिअनुसार अब एमालेको नेतृत्वमा सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।