काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार निर्माणका क्रममा एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले राप्रपाबिना सरकार नै नबन्ने परिस्थितिमा पनि सहयोग नगर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सहयोग गर्नैपर्ने परिस्थितिमा विपक्षी गठबन्धन अर्थात् नेपाली कांग्रेसलाई भने सघाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।
विशेषगरी गण्डकी प्रदेशमा एमाले–माओवादी गठबन्धनले सहयोग खोजेपछि राप्रपा पदाधिकारी बैठक बसेर यस्तो निर्णय गरेको हो । राप्रपाको पछिल्लो निर्णयसँगै गण्डकीमा एमाले–माओवादी गठबन्धनको सरकार बन्न अनिश्चित मात्रै बनेको छैन मध्यावधीको सम्भावनालाई बढाएको छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांगेससँग २७, एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित ८, राप्रपासँग २ र एकीकृत समाजवादीसँग १ सांसद छन् । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्ने प्रदेशमा राप्रपाले सघाएपनि कांग्रेस नेतृत्वमा सरकार बन्दैन भने राप्रपाले सघाएमा एमाले–माओवादी नेतृत्वमा सरकार बन्न सक्छ ।
तर, पछिल्लो निर्णयसँगै भने गण्डकीको राजनीति थप अन्योल बनेको छ ।
सम्बन्धित समाचार