निलम्बित न्यायाधीशविरुद्ध सर्वोच्चको ठहर- सम्बन्ध विवादमा रहेको श्रीमतीको कोठामा जानु अस्वभाविक-Sutra News

निलम्बित न्यायाधीशविरुद्ध सर्वोच्चको ठहर- सम्बन्ध विवादमा रहेको श्रीमतीको कोठामा जानु अस्वभाविक

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०
adalat

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।



अदालतले सम्बन्ध विच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चलेर सम्बन्ध नै विवादमा रहेको अवस्थामा एक्लै पीडितको कोठामा जानु स्वभाविक नभएको भन्दै थुनामा पठाएको हो ।

आदेशमा भनिएको छ, ‘सम्बन्ध बिच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।’

यस्तै, सर्वोच्चले पीडित र प्रतिवादीबीच पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको उल्लेख गरेको छ । ‘पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अङ्गसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धबिच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ,’ आदेशमा भनिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले आज सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको हो ।

गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएपछि निलम्बन भएको हो ।

सर्वोच्च अदालतको सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार पीडितले शंकास्पद वस्तु सेवन गरेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट