पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना-Sutra News

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका ३ पालीमा उपकरण ढुवानी गर्ने ट्रक दुर्घटना परेको जानकारी दिए ।



नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजना स्थलमा उपकरण ढुवानी गर्ने क्रममा प ०३००१ ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो ।

“सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो, दुई वटा क्रेनको सहायताले ट्रक उठाइएको छ,” प्रमुख जिल्ला अधिकारी भुसालले भने ।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषण स्थलमा पुगिसकेका छन् । विं.सं. २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो ।

सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट