काठमाडौं । चर्चित गायक राजेशपायल राई बिहीबार बिहानैदेखि सञ्चार माध्यममा छाए । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि उनी पक्राउ परेका हुन् ।
गायक राई राति २ बजे पक्राउ परे । मादक पदार्थले छाडेपछि प्रहरीले उनलाई आफन्तको निगरानीमा छाडिदिए ।
प्रहरीले पक्राउ गरेको समाचार सेलाउन नपाउँदै उनी पुनः सञ्चार माध्यममा छाए । यसको प्रमुख कारण थियो– श्रीमान श्रीमतीबीच भएको ‘डिभोर्स’ ।
गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङ्गवुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।
स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।
उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङ्गवुङलाई थप नगद दिने सहमति गरेका छन् ।
साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ ।
उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं. २०७८ असोजमा बिहे दर्ता गरेका थिए ।
गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । यस्तै, उनले आफ्नो मायामा कुनै खोट नभएको दाबी गरेकी छन् ।